हामीमध्ये कत्तिको बानी चिया तात्तातै खाने हुन्छ । जिब्रो डढला झैं गरी चिया सुक्र्याउन आनन्द मान्नेहरूका लागि नमीठो खबर छ । एउटा अध्ययनमा दाबी गरिएअनुसार, तात्तातो चिया खाने बानीले घाँटीको क्यान्सरलाई निम्त्याउन सक्छ । अर्थात्, जति तातो चिया उति सम्भावना क्यान्सरको ।
बि्रटिस मेडिकल जर्नलमा प्रकाशित यो अध्ययनका करिब ५० हजार व्यक्तिको चिया खाने बानी सर्वेक्षण गरिएको थियो । तिनले खाने चियाको तापमान जाँचिएको थियो । त्यो अध्ययनपछि अनुसन्धाताहरू कुन निष्कर्षमा पुगे भने— बढी तातो चिया खाँदा अन्न नली (फुड पाइप) वा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणासम्म बढी हुन्छ ।
इरानका बासिन्दाहरू चिया निकै बढी खाने गर्छन् । तर त्यहाँ पछिल्लो समयमा त्यस्ता व्यक्तिहरूमा पनि इसोफेगल क्यान्सरको समस्या पाइयो, जसलाई चुरोटबिँडी वा कुनै पनि रूपको तमाखुको अम्मल थिएन । तिनको घाँटीको तन्तुमा समस्या उत्पन्न भइसकेको थियो र त्यसको कारण थियो— तात्तातो चिया खाने बानी । चिया चुलोबाट निकालेको दुई मिनेटभित्र खाने व्यक्तिलाई क्यान्सरको जोखिम ती व्यक्तिको दाँजोमा पाँच गुणा बढी हुन्छ, जो चार वा पाँच मिनेटपछि यस्तो चिया खाने गर्छन् ।